जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार ०९:१४

अदालतका श्रेस्तेदार तीस हजार घुससहित पक्राउ


कास्की, चैत ६

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग रु ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ । शुरुमा रु ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ । श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइन्छ ।