जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १६:३२

कोरोनाको त्रास : मलामीमा पनि तोकियो संख्या, यस्तो छ पशुपति क्षेत्र बिकाश कोषको सूचना


काठमाडौं, चैत ६ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो।

‘मलामीको संख्या २५ भन्दा बढी नल्याउन निर्देशन जारी गरिसकेका छौं, पहिलै बुक भइसकेका धेरै मानिस जम्मा हुने ठूला पूजाआजा कर्मकाण्डहरूसमेत स्थगन गर्न सम्बन्धित पक्षलाई सूचना पठाइसकेका छौं,’ ढकालले भन्नुभयो । ढकालका अनुसार पशुपति आर्यघाटको पारीपट्टि हुने आरतीसमेत बन्द गर्न निर्देशन दिइएको छ ।

पशुपतिमा हरेक साँझ आरती हुने गर्छ। जहाँ सयौं मानिस आरती सुन्न आउँछन्। पशुपतिमा हुने पूजाआजा र नगरी नहुने आरती भने नरोकिने ढकालले जानकारी दिनुभयो । यी निर्देशन पालना गराउन कोषले कोषाध्याक्ष मिलन कुमार थापाको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ।