जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १४:४३

कोरोनामा जनतालाई सेवा दिन खाद्य संस्थानले गर्यो सहुलियत पसल सञ्चालन


सुर्खेत, चैत ८

कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट चामल, सिमीको दाल र फापर बिक्री शुरु गरेको हो । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडको खाद्यान्न मौज्दातको वर्तमान सञ्चितिदर दोब्बर पार्ने, खाद्यान्न अभाव हुन नदिन समयमै ढुवानीको व्यवस्था मिलाइएको बताए । संस्थानले शुक्रबारदेखि सहुलियतमा खाद्यान्न बिक्री वितरण शुरु गरेको हो ।

संस्थानको गोदाममा १७ हजार क्विन्टल चामल मौज्दात छ । संस्थानमा कार्यरत कर्मचारी र उपभोक्ताको स्वास्थ्य तथा सुरक्षामा सतर्कता अपनाइएको संस्थानका प्रमुख थापाले बताए । यसैबीच होटल अर्गनाइजेशनले व्यवसायमा परेको मर्कामा विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने भएको छ । होटल अर्गनाइजेशनको टोलीले आज सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई भेटेर आपसी समन्वय र सहकार्यका विषयमा छलफल गर्नेछ ।