जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १६:०८

कोरोनाबारे अफवाह फैलाउने एक ब्यक्ति पक्राउ


काठमाडौं, चैत ८ । सामाजिक सञ्जालमा कोरोनाबारे गलत सूचना दिनेमाथि प्रहरीले निगरानी बढाएको छ । काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिइसकेको भन्दै केही ब्यक्तिले फेसबुक म्यासेन्जरमा सन्देश पठाएर अफवाह फैलाएपछि अनुसन्धान अघि बढाएको प्रहरीले निगरानीमा कडाई गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले केही फेसबुक पेज र फेसबुक गु्रपमासमेत भ्रम फैलाउने सूचना सम्प्रेषणका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘यस किसिमका भ्रामक जानकारी र अफवाह फैलाउने कामप्रति अनुसन्धान अघि बढिसकेको छ, भ्रम फैलाएर जनतामा त्रास फैलाउने व्यक्ति वा समूहको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,’ डिआइजी थापाले भन्नुभयो । भ्रामक सूचना सम्प्रेषण गर्दै काठमाडौंको नर्भिक, टेकु अस्पताललगायत अन्य अस्पतालमा समेत कोरोनाको बिरामी उपचार भइरहेको र मृत्यु नै भएको अफवाह फैलाइएको थियो । अफवाह फैलिएपछि नर्भिक अस्पतालले बिज्ञप्ति नै जारी गरी आफ्नो अस्पतालमा कोरोना संक्रमित बिरामी अहिलेसम्म नदेखिएको भन्दै कडा कार्वाहीको माग गरेको छ ।

डीआइजी क्षेत्रीले विपद्का समयमा भ्रम फैलाउनेमाथि गम्भीर ढंगले अनुसन्धान थालिएको बताउनु भयो । उहाँका अुनसार साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै ढंगले यस्ता भ्रामक सूचनामाथि निगरानी गरेर अनुसन्धान थालेको छ । प्रहरीले अफवाह फैलाएको आरोपमा सीपाडोलबाट विवेक थापालाई पक्राउ गरिसकेको छ । थापामाथि अनुसन्धान सुरु भएको डीआईजी क्षेत्रीले जानकारी दिनुभयो । डीआइजी क्षेत्रीका अनुसार मुलुकी अपराधसंहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजायसमेत हुनेछ ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद(२ मा ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ मा भएको प्रावधानले झुट्ठा अफबाह फैलाउन नहुने उल्लेख गरेको छ । ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन,’ परिच्छेदमा भनिएको छ ।