जनता टाइम्स

८ चैत्र २०७६, शनिबार २२:१५

कोरोना भाइरसले बेलायतमा एक नेपालीको मृत्यु


लन्डन, चैत ८ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको हो । नेपालको संखुवासभा घर भएका राई सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आउनुभएको थियो ।

उहाँको मृत्यु मंगलबार चैत ४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको थियो । उहाँ ब्रिटिस गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सर्नुभएको थियो । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किनुभएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त बिरामी पर्नुभएको थियो । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्‍याए पनि उहाँलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।

मृत्युको कारण कोभिड १९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो । अहिले राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ । संखुवासभा समाज, वेलायतले राई परिवार आइसोलेशनमा रहेकाले अहिले समवेदना व्यक्त गर्न नजान जिल्लावासीका लागि सूचना जारी गरेको छ ।