जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १४:०७

भक्तपुरमै स्वाब परीक्षण : मध्यपुरथिमी नगरपालिकाको यस्तो छ तयारी


रमेश गिरी\ भक्तपुर, चैत ९

मध्यपुरथिमि नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अबस्थामा राखेको छ । नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को समेत परीक्षण गर्ने मेसिन भित्राउनुकासाथै अन्य तयारी पुरा गरेर राखेको हो ।

कोरोना भाइरस भए नभएको परीक्षण गर्नसक्ने ‘पोलिमराइज चेन रिएक्सन’ (पीसीआर) मेशिन सहित नगरपालिका र इन्टरपेड नेपालको समन्वयमा अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब आइतबारदेखि संचालनमा ल्याएको छ । यो ल्याबबाट कोरोनाको शंकास्पद विरामीको स्वाब परीक्षण गर्न सकिनेछ । काठमाण्डौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा कोरोना भाइरस परीक्षणमा चाँप धान्न नसकेर सरकारले अनुमति दिएमा यहीँबाट परीक्षण गर्न सकिने भएको हो । कोरोना परीक्षण अनुमतिका लागि कुराकानी भईरहेको बताइएको छ ।

अस्पताल व्यबस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले अनुमति आएलगत्तै कोरोना भाइरसको परीक्षण गरि टेकु अस्पतालको भिडलाई कम गर्न यो ल्याब सहयोगी हुने बताउनुभयो । इन्टरपेड नेपालका दुई र अस्पतालका दुईगरि चारजना जनशक्ति ल्याबमा परिचालन गरिने छभने शंकास्पद विरामीको परीक्षणमा पोजेटिभ देखिए रिपोर्टसहित टेकु अस्पताल पठाउने गरि ल्याब संचालनमा ल्याउने तयारी गरिएको छ ।

यो ल्याबमा विभिन्न रोगहरु सार्स, डेंगु, स्वाइनप्लू लगायत क्यान्सर एवं शरीरका बिभिन्न अंगका ट्युमरहरुको समेत परीक्षण गर्न सकिने भएको छ । ल्याब टेष्टका लागि विदेश पठाउदा मंहगो र रिपोर्ट आउन धेरै समय लाग्ने भएकाले यहीँ परीक्षण गर्दा सरल एवं छिटो हुने दाबी गरिएको छ । यसैगरि नगरपालिकाले ६ शैयाको आइसोलेसन वार्ड समेत तयार पारेको छ । अस्पतालमा छुट्टै ब्लक निर्माण गरेर कम्तीमा ४ देखि बढीमा ६ जनासम्म अट्ने व्यबस्थित आइसोलेसन वार्ड तयार पारेको हो । यसलाई केहीदिन भित्रै संचालनमा ल्याउन सकिने नगर प्रम्ख श्रेष्ठले जानकारी दिनुभयो ।

आइसोलेसन वार्डमा कोरोना संक्रमति विरामीको उपचारका लागि जनशक्ति समेत तयारी अबस्थामा राखेको छ । अस्पतालका डाक्टरलगायत स्वास्थ्यकर्मीलाई विरामीको उपचारकाबारे आवश्यक तयारी र अपनाउनु पर्ने सावधानीकाबारेमा तालिम समेत दिएको छ । कोरोना संक्रमति विरामीको उपचारमा लगाईने सुरक्षित पोशाक पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट लगाउने र उपचार गर्नेबारेमा तालिम दिएको छ ।

अस्पतालका लागि इन्टरपेड नेपालले नौ सेट पिपिई पोशाक र पोशाक लगाउने लगायतको तालिम दिएको हो । कोरोनाको शंकास्पद विरामी आएमा अस्पतालले डेण्टल र फिजियोथेरापीका लागि निर्माण गरेको ३० शैया क्षमताको नयाँ भवनसमेत प्रयोगमा ल्याउने तयारी गरेको छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो–“आईसोलेसन वार्डका साथै शंकास्पद विरामी राख्ने ठाउँ अभाव भएमा नयाँ भवनको दुवैतला प्रयोगमा ल्याउने गरि तयारी अबस्थामा राखेका छौ, क्वारेन्टाइनका लागि आवश्यक परे बोडेको कृषि विकास बैंकको भवन प्रयोगमा ल्याउने तयारी गरेका छौ ।”

नगरपालिकाले हालै करिब रु. ४० लाखमा खरिद गरेको एम्बुलेन्सलाई कोरोना संक्रमितका शंकास्पद विरामी बोक्नका लागि तयारी अबस्थामा राखेको छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो–“नगरपालिकाले नयाँ एम्बुलेन्सलाई आवश्यकता पर्दा कोरोना संक्रमति विरामी मात्रै बोक्ने गरि तयारी अबस्थामा राखेका छौ, एम्बुलेन्स चालक र विरामीबिच कुनै पनि सम्पर्क नहुने गरि एम्बुलेन्सलाई तयारी अबस्थामा राखेका हौं ।”

अस्पतालका मेडिकल डाइरेक्टर डा. डि.के. रौशनले अस्पताल संकटको बेलामा कसरी परिचालन हुने भनेर तयारी अबस्थामा रहेको बताउनुभयो । उहाँले नगरपालिकाको सहयोगमा अस्पताल कोभिड–१९ को संक्रमण रोक्न, जनचेतना प्रवाह गर्ने कार्यमा समेत सक्रिय रहेको बताउनुभयो ।