जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार ११:५५

पार्टी केन्द्रीय सदस्यलाई नै प्रभावशाली जनसंगठनको नेतृत्व, यी हुन जनसंगठन नछाडने नेकपाका नेता


घटायो सवै जनसंगठनको केन्द्रीय कमिटीको आकार, हटने भए सिफारिशमा परेका झण्डै आधा केन्द्रीय सदस्य

काठमाडौं, जेठ ४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनबर्गीय संगठनको नेतृत्वमा अधिकांश केन्द्रीय सदस्यहरु हावी भएका छन । पार्टीको केन्द्रीय सचिवालयमा रहेका हेभिवेट नेतासमेत जनसंगठनको नेतृत्वमा आइपुग्नुभएको छ । सचिवालय सदस्य तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले किसान महासंघको नेतृत्व लिनुभएको हो । उहाँले नेतृत्व लिँदा चिबहादुर श्रेष्ठ सहसंयोजक हुनुभएको छ ।

सवै जनसंगठनको केन्द्रीय कमिटीका आकार घटाएर संयोजक र सहसंयोजक चयन गर्दा नेतृत्वको प्राथमिकतामा केन्द्रीय कमिटीका सदस्यहरु परेका हुन । नेकपाले सञ्चार क्षेत्रमा पनि केन्द्रीय कमिटीकै सदस्यलाई संयोजक छानेको छ । जसअनुसार प्रेस संगठन नेपालको संयोजकमा केन्द्रीय कमिटी सदस्य महेश्वर दाहाललाई जिम्मा दिई गणेश बस्नेतलाई सहसंयोजक बनाइएको छ । एकता कार्यदलले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी घटाएर १ सय ५१ सदस्यीय बनाएको छ । नेपाल मुस्लिम संगठनमा पनि केन्द्रीय सदस्यले नेतृत्व पाएका छन ।

२५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको सो संगठनमा केन्द्रीय सदस्य सिराज अहमद फारुखीले संयोजकको जिम्मेवारी पाउनु भएको छ भने अतहर अहमद फारुखी सहसंयोजक हुनुहुन्छ । नेपाल दलित मुक्ति संगठनको नेतृत्व पनि केन्द्रीय कमिटी सदस्यले पाउनु भएको छ । सो संगठनको संयोजकमा तिलक परियार र सहसंयोजकमा बोमबहादुर बिश्वकर्मा चयन हुनुभएको छ भने केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय बनाइएको छ । यस्तै जनसाँस्कृति महासंघमा केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय बनाई खगेन्द्र राई संयोजक, सूर्य पौडेल (सरल सहयात्री) सहसंयोजक तोकिएको छ । संयोजक राई केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।

पेशागत महासंघ नेपालको नेतृत्व पनि केन्द्रीय सदस्यले नै पाएका छन । १ सय ११ सदस्यीय केन्द्रीय कमिटी कायम गरिएको पेशागत महासंघको संयोजकमा पार्टी केन्द्रीय सदस्य बिश्वनाथ प्याकुरेल हुनुहुन्छ । सहसंयोजकमा दयाराम बस्याल तोकिनु भएको छ । यस्तै केन्द्रीय कमिटी ९९ सदस्यीय कायम गरिएको नेपाल भूमीहिन सुकुम्बासी संगठनको नेतृत्व पनि केन्द्रीय सदस्यले नै पाएका छन । सो संगठनमा केन्द्रीय कमिटी सदस्य रामप्रित पासवान संयोजक छानी पदम देवकोटालाई सहसंयोजक चयन गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली संस्थापक रहनुभएको युवा संघ नेपालको नेतृत्व पनि केन्द्रीय सदस्यले नै पाएका छन । युवा संघमा पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा, दिपशिखा संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएको छ । अखिल र युवा संघ दुवैतिर दुवै संगठनमा एउटाको मात्रै तोकिएको भन्दा बढी सदस्य केन्द्रीय कमिटीमा रहेका छन । आदिवासी जनजाती महासंघको नेतृत्व पनि पार्टी केन्द्रीय कमिटी सदस्यले नै पाएका छन । २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी कायम गरिएको महासंघमा केन्द्रीय सदस्य सुरेश आलेमगर संयोजक र अर्का केन्द्रीय सदस्य शेरबहादुर तामाङ सहसंयोजक तोकिनुभएको छ ।

यसैगरी ट्रेड युनियन महासंघ नेपालको केन्द्रीय कमिटी २ सय ५१ सदस्य रहने गरी पार्टी केन्द्रीय सदस्य बिनोद श्रेष्ठलाई संयोजक तोकिएको छ । महासंघको सहसंयोजकमा जगत सिंखडा तोकिनुभएको छ । यसैगरी अखिल नेपाल महिला संघमा केन्द्रीय सदस्य अमृता थापा संयोजक तोकिनुभएको छ भने अर्की केन्द्रीय कमिटी सदस्य सीता पौडेल सहसंयोजक तोकी २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी कायम गरिएको छ ।

अनेरास्वबियूको केन्द्रीय कमिटी २ सय ५१ कायम गरी ऐन महर संयोजक र रञ्जित तामाङलाई सहसंयोजक तोकिएको छ । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी तोकी धनबहादुर चन्द संयोजक र जीवन बुढा सहसंयोजक तोकिएको छ । प्रवासी नेपाली एकता मञ्च भारतमा १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी कायम गरी लोकनाथ भण्डारी संयोजक र इश्वरी भण्डारी सहसंयोजक तोकिएको छ ।

यस्तै अपांगता संगठन नेपालको केन्द्रीय समिति ६९ सदस्यीय बनाइएको छ । सो संगठनमा इन्द्रमाया गुरुङ संयोजक र रामप्रसाद ढुंगाना सहसंयोजक तोकिनुभएको छ । खेलकुद महासंघ नेपाल १ सय ८५ सदस्यीय केन्द्रीय समिति कायम गरी पुरुषोत्तम पौडेल संयोजक र शिव कोइराला सहसंयोजक तोकिनुभएको छ ।

नेपाल उद्योग ब्यवसायी महासंघमा लक्ष्मीदाश मानन्धर संयोजक, श्याम पाठक सहसंयोजक तोकी १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी तोकिएको छ । नेपाल बुद्धिजिवि संगठनको केन्द्रीय कमिटी १६१ सदस्यीय कायम गरी डा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक तोकिएको छ । यसैगरी मानवअधिकार तथा सामाजिक अभियान नेपालको केन्द्रीय कमिटी ४५ सदस्यीय कायम गी मीनबहादुर शाही संयोजक र हुकुम पोखरेल सहसंयोजक तोकिएको छ ।

यस्तै नेपाल कानून ब्यवसायी संगठनको केन्द्रीय कमिटी ४५ सदस्यीय कायम गरिएको छ । सो संगठनले यसअघि नै संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणि पोख्रेल चयन गरिसकेको छ । नेपाल निर्माण ब्यवसायी संगठन ९९ सय सदस्यीय कायम गरिएको छ । सो संगठनमा यक्षध्वज कार्की संयोजक, शिवप्रसाद चौलागाई सहसंयोजक चयन भइसक्नुभएको छ । यस्तै प्रोग्रेसिभ इञ्जिनियरिङ एशोसियशन नेपालको केन्द्रीय कमिटी ९५ सदस्यीय कायम गरिएको छ । सो संगठनले सवैभन्दा पहिला एकता गरी शम्भुबहादुर श्रेष्ठ संयोजक र डा हरि पराजुली सहसंयोजक चयन गरिसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकले जनसंगठनको एकताको टुंगो लगाएको थियो । सो निर्णयलाई मदन आश्रित स्मृति दिवसको अवसर पारी शुक्रवार सार्वजनिक गरिएको हो । जनसंगठनको नेतृत्व दिइएका थुप्रै केन्द्रीय कमिटी सदस्यहरु पोलिटब्युरो सदस्यको सूचीमा समेत रहेका छन ।