लन्डन, चैत ११
बेलायत सोमबार मध्यरातदेखि तीन साताका लागि ‘लकडाउन’ भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न बेलायत सरकारले थप कडा नियम घोषणा गरेको हो । बेलुका टेलिभिजनबाट प्रसारित प्रत्यक्ष सम्बोधनमा प्रधानमन्त्री बोरिस जोनसनले बेलायती जनतालाई अत्यावश्यक खाद्यान्न किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीबाहेक अरुलाई घरैमा बस्न निर्देशन दिनुभएको छ । ‘नियम पालना नगर्ने मानिसहरुलाई दण्ड जरिवाना गर्न र भीडभाड हटाउन प्रहरीलाई अधिकार दिइएको छ’ उहाँले भन्नुभयो ।
त्यसैगरी सबै पुस्तकालय, जिम, खेल मैदान, चर्च तथा धार्मिक भेला, विवाह समारोहहरुमा पनि रोक लगाइएको छ । यद्यपि अन्त्येष्टि समारोह भने आयोजना गर्न पाइनेछ । दुई जनाभन्दा बढी भेला हुन नपाइने प्रधानमन्त्रीको सम्बोधनमा छ । पार्कमा अभ्यासका लागि एक जनामात्र वा परिवारका साथ जान सकिन्छ । बैंक, फार्मेसी, पेट्रोल, खाना, पत्रिका, हार्डवेयर, लन्ड्रीजस्ता पसलबाहेक बन्द हुनेछन् । सडक र रेल नेटवर्क खुल्ला रहनेछन् तर अत्यावश्यक सेवाका कामदारले मात्र प्रयोग गर्न पाउने बताइएको छ ।
प्रधानमन्त्री जोन्सनले बेलायतको स्वास्थ्य सेवा (एनएचएस) कोभिड–१९ बिरामीको चापका कारण तहसनहस हुन नदिन यो कदम चाल्नु परेको पनि बताउनुभएको समाचार एजेन्सीले जनाएको छ । यसअघि सरकारले जमघट, अनावश्यक यात्रा नगर्न र सकभर घरैबाट काम गर्न गरेको अनुरोध अवज्ञा भएपछि सरकार थप कठोर बनेको हो । फ्रान्स, इटाली र स्पेनले पनि कोभिड १९ फैलन नदिन लकडाउन गरेका छन् । बेलायतमा कोरोनाका कारण ३ सय ३५ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ६ सय ५० जनामा संक्रमण भएको छ ।
प्रतिक्रिया दिनुहोस्