जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार २०:०८

चीनले दियो कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट


काठमाडौं, चैत १२

चीनको एउटा कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको छ । चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासलाई किट हस्तान्तरण गरेको हो ।

उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले सहयोगस्वरुप ती सामग्री नेपाललाई निःशूल्क हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा बेइजिङ नगरपालिका वाणिज्य ब्यूरोका निर्देशक थान छङ्हाइ र बेइजिङ–काठमाडौँ अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिउ चियान् ली पनि उपस्थित थिए ।

प्रति टेस्टिङ किटले एकजनामा कोरोना भाइरस सम्बन्धी परीक्षण गर्न सकिन्छ । हाल विश्वका अन्य मुलुकमा पनि सो कम्पनीद्वारा उत्पादित किटहरू भाइरस जाँचका लागि प्रयोग भइरहेका छन् । चीनका लागि कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार बेइजिङबाट ती सामग्री विहिवार नै तिब्बतको ल्हासा पुग्नेछन् ।

त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै ती सामग्री नेपाल आइपुग्नेछ । २ हजार किटको मूल्य करीब ३० हजार अमेरिकी डलर बराबर छ भने सामानको वजन २५ किलो बराबर छ ।