जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार ०९:१०

मेयरको सवा करोडको गाडी जलाउने दुई जना पक्राउ


अछाम ।

झण्डै सवा करोड रुपैयाँको मेयरको गाडी जलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गाडीमा आगजनी गर्नेमा मंगलसेन नगरपालिका–१ कुन्तीवण्डालीका १९ वर्षीय दीपेन्द्र जैगडी र १९ वर्षीय एकेन्द्रराज नाथ रहेको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा बैशाख ३१ गते राति आगजनी भएको थियो ।

सदरमुकाम मंगलसेनमै गाडीमा आगजनी भएपछि स्थानीयमा त्रास फैलिएको थियो । प्रहरीले अनुसन्धान गरी अभियुक्त सार्वजनिक गरेपछि प्रहरीप्रति स्थानीयको भरोसा बढेको छ । पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएको र उनीहरुको खोजिका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख शाहीले बताउनुभयो । यो गाडी नगरपालिकाले गएको वर्ष १ करोड २० लाख लागतमा खरिद गरेको थियो ।