जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार ०९:४८

भारतमा आज हुँदैछ मोदीदेखि सन्नी देवलसम्मको भाग्यको परीक्षा


नयाँदिल्ली, जेठ ५

भारतमा जारी १७ औं लोकसभा चुनाव अन्तर्गत आज सातौं अर्थात् अन्तिम चरणको मतदान सुरु भएको छ । अन्तिम चरणअन्तर्गत विभिन्न सात प्रदेश र केन्द्रशासित एक गरी आठ राज्यका ५९ लोकसभा सिटमा मतदान सुरु भएको हो ।
उत्तरप्रदेश (यूपी) का १३, बिहारका आठ, पश्चिम बंगालको नौ, पन्जाबका सबै १३, चण्डिगढको एक, झारखण्डको तीन, हिमाचलका सबै चार र मध्यप्रदेशका आठ लोकसभा क्षेत्रका दश करोडभन्दा बढी मतदाताले ९१८ उम्मेद्वारको भाग्यको फैसला गर्दैछन् आज।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउड अभिनेता सन्नी देवलसम्मको भाग्यको फैसला आजकै मतदानले गर्नेछ। सन् २०१४ को चुनावमा आइतबार मतदान भइरहेका ५९ वटा लोकसभा सिटमध्ये भारतीय जनता पार्टी र गठबन्धन दलले ३९ सिट मा जित हाँसिल गरेको थियो । आज चुनाव भइरहेको लोकसभा क्षेत्रहरुमध्ये युपीको वाराणसी, गोरखपुर, पञ्जाबको गुरदासपुर र बिहारको पटनासाहेब तथा पाटलीपुत्रको निर्वाचनलाई लिएर सर्वत्र चासो छ। सांस्कृतिक र धार्मिक नगरी बाराणासी प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र हो।

पाँच वर्षअघि मोदीले यही लोकसभा क्षेत्रमा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई पराजित गर्नुभएको थियो । तुलनात्मक रुपमा मोदीका लागि सहज ठानिएको बाराणासीमा यसपटक भारतीय राष्ट्रिय कांग्रेसका अजय राय मुख्य प्रतिस्पर्धाका रुपमा रहनुभएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीका लागि युपीकै गोरखपुर लोकसभा क्षेत्र प्रतिष्ठाको विषय बनेको छ। युपीका मुख्यमन्त्री योगी आदित्यनाथको गृहनगरी पनि भएकाले गोरखपुर विगत दुई दशकदेखि भाजपाको किल्लाका रुपमा चिनिँदै आएको थियो।

तर, एक वर्षअघि भएको उपनिर्वाचनमा समाजवादी पार्टीले भाजपाको किल्ला भत्काउन सफल भयो। उक्त हारका कारण पनि गोखरपुरमा गुमेको साख फर्काउन यसपटक भाजपाले पुरै जोड लगाएको छ। भाजपाका तर्फबाट भोजपुरी सिनेमाका हिरो रवि किशन र समाजवादी पार्टीले रामभुसल निषादलाई चुनावी मैदानमा उतारेको छ।

सातौं चरणअन्तर्गत पन्जाबका तेह्रवटै लोकसभा सिटमा आज मतदान भइरहेको छ तीमध्ये गुरदासपुर बलिउड अभिनेता सन्नी देअलको उम्मेद्वारीका कारण चर्चामा छ। यो लोकसभा सिटबाट बलिउडका अर्का अभिनेता बिनोद खन्ना भाजपाका तर्फबाट चारपटक चुनाव जित्नुभएको थियो ।

दुई वर्षअघि खन्नाको निधन भएपछि भाजपाले पुनः बलिउड कलाकारलाई नै मैदानमा उतारेको छ। साथै पाँच वर्षअघि आम आद्मी पार्टीका चारवटा सिटमा अप्रत्यासित जित हात पारेको थियो। तर, पछिल्लो समय उक्त पार्टीको जनाधार दिल्लीबाहिर खुम्चिँदै गएका कारण यसपटकको चुनावमा उसले हात पार्ने नतिजाप्रति पनि राजनीतिक वृत्तमा विशेष चासो रहेको पाइन्छ।

त्यसैगरी आज मतदान हुने बिहारका आठ लोकसभा क्षेत्रमध्ये पटनासाबिह र पाटलीपुत्रको चुनावी रस्साकस्सी विशेष छ। पाँच वर्षअघि पटनासाहिबमा भाजपाको तर्फबाट अर्का बलिउड अभिनेता शत्रुध्न सिन्हा निर्वाचित हुनुभएको थियो । तर, यसपटक उनै सिन्हा भाजपा छाडेर क‌ांग्रेसबाट उम्मेद्वार बन्नुभएको छ ।

भाजपाले भने केन्द्रीय मन्त्री रवि शंकर प्रसादलाई सिन्हाको विरुद्ध मैदानमा उतारेको छ। एक त विरोधी खेमामा पुगेका सिन्हाको उम्मेद्वार र अर्कोतर्फ केन्द्रीय मन्त्री मैदानमा रहेकाले भाजपाले पटनासाहिबलाई प्रतिष्ठाको रुपमा लिएको छ।

चारदशकभन्दा बढी समयदेखि बिहारको राजनीतिमा आफ्नो प्रभाव छाड्दै आएका राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवकी जेठी छोरी मिसा भारती र भाजपाका रामकृपाल यादवबीचको प्रतिस्पर्धाका कारण पाटलीपुत्र लोकसभा क्षेत्रको चुनावी परिणामलाई लिएर पनि विशेष चासो रहेको पाइन्छ।

कुनै समय लालुका विश्वासपात्र रहेका यादव पाँच वर्षअघि राजद छाडेर भाजपा प्रवेश गर्नुभएको थियो। २०१४ को चुनावमा यी दुईबीच नै प्रतिस्पर्धा थियो र यादवले मात्र चालिस हजार भोटले बाजी मारेका थिए। अघिल्लोपटक जस्तै यसपटक पनि यी काका र भतिजीबीचको भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ।

गएको १३ अप्रिलदेखि जारी १७ औं लोकसभा निर्वाचनको मतगणना भने आगामी २३ मे हुनेछ। भारतको निर्वाचन आयोगले छैटौं चरणसम्म ६६.८८ प्रतिशत मतदान भएको जनाएको छ।