जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार २२:४३

कोरानाले लियो ३६२२६ जनाको ज्यान : संक्रमणमा पहिलो, मृत्युमा पाँचौं नम्बरमा पुग्यो अमेरिका (सूचीसहित)


काठमाडौं, चैत १७ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ३६ हजार नाघेको छ । वल्डोमिटर्सका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ३६ हजार २ सय २६ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार ७ सय ३३ पुगेको छ भने १ लाख ५८ हजार ७ सय बिरामी उपचारपछि निको भइ घर फर्किएका छन । पछिल्लो समय कोरोनाबाट इटालीमा सवैभन्दा बढीको मृत्यु भएको छ । इटालीमा ८ सय १२ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेकोे संख्या ११ हजार ५ सय ९१ पुगेको छ । यस्तै दोस्रोमा स्पेन रहेको छ ।

स्पेनमा ७ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । कोरोनाको उदगम चीनमा अहिलेसम्म ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउने राष्ट्रको चौथो सूचीमा इरान र पाँचौंमा अमेरिका पुगेको छ । इरानमा २ हजार ७ सय ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ भने अमेरिकामा २ हजार ६ सय २६ जनाको ज्यान गएको छ । कोरोना संक्रमितको संख्यामा अमेरिका पहिलो नम्बरमा पुगको छ । अमेरिकामा योसमाचार तयार पार्दासम्म १ लाख ४५ हजार ५ सय ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।