जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार १५:५५

चार वरिष्ठ कलाकारलाई आफ्नै गृहजिल्ला दोलखामा सम्मान


दोलखा, जेठ ५

संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने दोलखाका ४ स्रष्टा सम्मानित हुनुभएको छ । दालखामा जन्मिएर कलाको क्षेत्रमा योगदान दिने वरिष्ठ कलाकारहरु कुमार बस्नेत, मदनदास श्रेष्ठ, हरिबहादुर राउत र पुष्कर गुरुङलाई दोलखालीको तर्फबाट प्रेम–पूर्ण–प्रताप फाउण्डेशन, दोलखाले सम्मान गरेको हो ।

सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा प्रदेश सांसद विशाल खड्का र जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले संयुक्त रुपमा दोसल्ला ओढाई चार जना बरिष्ठ कलाकारहरुलाई सम्मान गर्नुभएको थियो । दोलखाको भीमेश्वर नगरपालिका ९ साखिनेमा २००० सालमा जन्मिनुभएका लोकगायक कुमार बस्नेतले २०१५ सालमै लोकगीत रेकर्ड गराउनु भएको थियो । उहाँको पहिलो रेकर्ड गरिएको लोकगीत ‘चौतारी घ्याङ्ला नानी’ हो । बस्नेतले आधुनिक गीत पनि गाउनु भएको छ ।

राम्रो नर्तकको रुपमा समेत चिनिएका बस्नेतका लै बरी लै, लप्सीको गेडा चुसेर, छोरी भन्दा आमा तरुनी, मादल घनघन, भुइँमा बस्दा बात लाग्ला जस्ता गीतहरु निकै लोकप्रिय छन् ।

दोलखाको दोलखा बजारमा जन्मिनुभएका मदनदास श्रेष्ठ २०२१ सालदेखि रङ्गकर्ममा लाग्नुभएको थियो । श्रेष्ठको पहिलो एकाङ्की नाटक ‘धनबहादुरको मृत्युमा परिवारको आँसु’ हो । नाटकमा नायकका रुपमा उहाँले आफ्नो अभिनय सुरु गर्नुभएको हो । श्रेष्ठले थुप्रै एकाङ्की र त्यत्तिकै पूर्णाङ्की नाटक गर्नुभएको छ ।

साविक भीमेश्वर नगरपालिका १ दोलखामा जन्मिनुभएका हरिबहादुर राउत लोकगायनको क्षेत्रमा चर्चित नाम हो । रेडियो नेपालमा स्वरपरीक्षा पास गरेपछि उहाँले रेकर्ड गराएको पहिलो गीत ‘माया त लाउने मन थियो, रापतीले छेक्दियो’ हो । राउतले ५ सय भन्दा बढी लोक, आधुनिक गीतका साथै भजन र राष्ट्रिय गीतहरु समेत गाउनु भएको छ । अहिले पनि उहाँ गायन क्षेत्रमा नै व्यस्त हुनुहुन्छ । उहाँका ‘नरोऊ माया सम्झेर मलाई’, ‘मायाले बोलायो नेपाल बन्दमा’ लगायतका गीतहरु चर्चित छन् ।

दोलखा जिल्लाको साविक फस्कु गाविस ७ मा जन्मिएका पुष्कर गुरुङ कलाकारिताको सुरुवात भने रङ्गमञ्चबाट भएको हो । उहाँले २०३७ सालतिर ‘हामी वसन्त खोजिरहेछौँ’ भन्ने नाटकबाट आफ्नो कलाकारिताको सुरुवात गर्नुभएको थियो । फाउण्डेसनले नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि १० हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रमको अध्यक्षता फाउण्डेसनका अध्यक्ष शिवजी प्रधानले गर्नुभएको थियो ।