धनगढी, चैत २१
स्थानीय स्तरसम्म कोरोना भाइरस संक्रमणको सन्त्रास बढ्नु अघिसम्म बिरामीलाई आफ्नोमा तान्न धनगढीका निजी अस्पतालहरुका बीचमा दौडधुप चल्थ्यो । कतिपयले सेती प्रादेशिक अस्पतालमै ‘सेटिङ’ मिलाएर बिरामीलाई आफ्नामा लैजान्थे ।
तर, धनगढीमै एक जनामा कोरोना संक्रमण देखिएपछि भने अवस्था फेरिएको छ। धेरैजसो निजी अस्पतालले बहिरंग सेवा नै बन्द गरे। कतिपय अस्पतालमा ताला झुण्डिएको देख्न सकिन्छ। कैलाली अस्पताल र ओम आशा अस्पतालले फार्मेसी मात्र खोलेर आकस्मिक कक्षसमेत बन्द गरेका थिए।
निजी अस्पतालले सेवा बन्द गरेपछि चौतर्फी आलोचना भयो। मंगलबार बिहान धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वडले एक सार्वजनिक कार्यक्रममै अप्ठ्यारो परेका बेला सेवा बन्द गर्ने निजी अस्पतालको लाइसेन्स खारेज गर्ने चेतावनी दिए। नगरप्रमुखको चेतावनीपछि भने निजी अस्पताल सञ्चालकहरु झस्किएका छन्। बिहिबारदेखि केही अस्पतालले ज्वरो र रुघाखोकी बाहेकका बिरामीको आकस्मिक कक्षबाट उपचार सेवा सुचारु गरेका छन्।
बिहीबार बिहान धनगढीका निजी अस्पतालहरु माया मेट्रो, सारथी, निसर्ग र नवजीवनका आकस्मिक कक्ष खुला गरिएको देखियो। माया मेट्रो अस्पतालको आकस्मिक कक्षमा अन्यको भन्दा भिडभाड थियो। सारथी अस्पताल पुग्दा डोटीका एक बिरामीको ऐपेन्डिसाइटिसको शल्यक्रिया गर्ने तयारी भइरहेको एक स्वास्थ्यकर्मीले बताए। निसर्ग अस्पतालमा पनि फाट्टफुट्ट बिरामी देखिएका थिए।
धनगढीमा ११ वटा मुख्य निजी अस्पताल छन्। धनगढी नेत्रालय, नवजीवन, सिपी, कैलाली, सिटी पोलिक्लिनिक, नोभा, ओम आशा, माया म्ेरटो, सारथी, निसर्ग र नवजीवन अस्पताल धनगढीमा सञ्चालित निजी क्षेत्रका अस्पताल हुन्।प्राइभेट अस्पताल संघ कैलालीका अध्यक्ष नै सञ्चालक रहेको कैलाली अस्पताल सेवा बन्द गर्नेमा अग्रपंक्तिमा थियो। माया मेट्रो र निसर्ग अस्पतालले भने ज्वरो र रुघाखोकी बाहेकका बिरामीका लागि आकस्मिक कक्ष सञ्चालनमै राखेका थिए।
बहिरंग सेवासमेत बन्द नगरेको दाबी गर्ने अस्पतालमा सारथी मात्रै थियो। ‘प्राइभेट अस्पताल संघकै पदाधिकारीले बिहीबार बिहान पनि फोन गरेर तपाईंले पनि बन्द गर्नुस्। तपाईंले सञ्चालन गर्दा हामीलाई अप्ठ्यारो पर्छ भनेर दबाब दिएका थिए,’ सारथीका प्रबन्धक वेदप्रकाश जोशीले भने, ‘अहिल्यै महामारी नआइसकेकोले आवश्यक सतर्कता अपनाएर हामीले ओपिडीलगायत कुनै पनि सेवा रोकेनौं।’
नगरप्रमुख, प्रदेश सरकार र आम सर्वसाधारणको आलोचनापछि प्राइभेट अस्पताल संघ कैलालीले बुधबार एक विज्ञप्ति जारी गर्दै सेवा सुचारु गर्न तत्पर रहेको जनाएको थियो। ‘हामी निरन्तर रुपमा सरकारका संयन्त्रसँग सहकार्य गर्न चाहन्छौं र सरकारलाई आवश्यक परे हाम्रा श्रोतसाधन प्रयोग गर्न दिन हामी तयार छौं,’ विज्ञप्तिमा भनिएको थियो। (कान्तिपुर)
प्रतिक्रिया दिनुहोस्