काठमाडौं, चैत २५
प्रधानमन्त्री केपी शर्मा ओलीले संकटका बेला निराधार आरोप र मिथ्या प्रचारमा नलाग्न आग्रह गर्नुभएको छ । स्वास्थ्य सामग्री खरिदका विषयमा विभिन्न टिकाटिप्पणी भईरहेकोका बेला मिथ्या प्रचारमा नलाग्न आग्रह गर्नुभएको छ ।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाले नागरिकको जीवनरक्षा भन्दा महत्वपूर्ण कुरा अरु हुन नसक्ने स्पष्ट पार्नुभयो । ‘कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ’, उहाको भनाई छ ।
प्रधानमन्त्री ओलीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने बताउदै स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको बताउनु भयो । ‘अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन्’, उहाले भन्नुभयो, ‘तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ ।’
उहाले समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो ध्यान गएको समेत बताउनु भएको छ । ‘मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।’
प्रधानमन्त्री ओलीले यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको भन्दै मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप–प्रत्यारोप समेत चलिरहेको बताउनु भयो ।
भिडियो
https://www.facebook.com/jantatimes/videos/624718831440990/
प्रतिक्रिया दिनुहोस्