काठमाडौं, चैत २७
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले कोरोना भाइरसको संक्रमणसँग जुझ्नका लागि गठित राष्ट्रिय कोषका विषयमा केहीले भ्रम सिर्जना गर्न खोजेको बताउनु भएको छ ।
उहाले सरकारले घोषणा गरेको कोषमा राष्ट्रपतिले दुई महिनाको, प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब राखिसकेको जानकारी दिनुभएको छ । ‘सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रिय जीवनका हरेक क्षेत्रका व्यक्तिहरू र संघसंस्थाहरूबाट पनि कोषमा गच्छेअनुसार रकम जम्मा भइरहेको स्पष्ट छ’, उहाले भन्नुभयो, ‘यस कोषमा शून्य रकम पनि योगदान नगर्ने स्वनामधन्य अभियन्ता वा अरूको नक्कल गर्न बानी परेका व्यक्तिहरूले यस सनर्वजनिक तथ्यमा पर्दा हालेर झूठको खेती नगरेकै राम्रो होला ।’
यस्तो छ उहाको धारणा
कोरोना भाइरसको संक्रमणसँग जुझ्नका लागि गठित राष्ट्रिय कोषमा नेपाल सरकारले ५० करोड छुट्याउने निर्णय शुरूमै मन्त्रिपरिषद बैठकबाट गरेको थियो । उक्त कोषमा सम्माननीय राष्ट्रपतिज्यूबाट दुई महिनाको पारिश्रमिक जम्मा भएको जानकारी राष्ट्रपति कार्यालयले नै सार्वजनिक गरेको विदितै छ । सम्माननीय प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषदका सदस्यहरूले एक महिनाको पारिश्रमिक शुरूमै जम्मा गर्ने निर्णय भएर हाल जम्मा पनि भइसकेको छ । प्रधानमन्त्रीको सचिवालयबाट समेत सल्लाहकार र प्रमुख स्वकीय र स्वकीय सचिवहरूले एक महिना बराबर र विज्ञहरू तथा अन्यले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने सार्वजनिक घोषणा गरी हाल जम्मा भइसकेको छ । संघीय संसदका सांसदहरूले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा भएअनुरूप कोषमा जम्मा पनि भएको छ।
सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रिय जीवनका हरेक क्षेत्रका व्यक्तिहरू र संघसंस्थाहरूबाट पनि कोषमा गच्छेअनुसार रकम जम्मा भइरहेको स्पष्ट छ । यस कोषमा शून्य रकम पनि योगदान नगर्ने स्वनामधन्य अभियन्ता वा अरूको नक्कल गर्न बानी परेका व्यक्तिहरूले यस सनर्वजनिक तथ्यमा पर्दा हालेर झूठको खेती नगरेकै राम्रो होला !
रोकथाम र उपचार तथा लकडाउन व्यवस्थित गर्ने काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र श्रमिकहरूलाई कामको जोखिम र घेरा हेरी विशेष भत्ता र बीमाको समेत व्यवस्था गरिएको जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूले चैत २५ गते राष्ट्रको नाममा गर्नुभएको संबोधनमा प्रष्ट गरिसक्नुभएको स्मरण गराइन्छ ।
प्रतिक्रिया दिनुहोस्