जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार १७:३०

दैनिक ६ सय जनाको नमुना परीक्षण गर्न शुरु


काठमाडौं, चैत २८

सरकारले दैनिक रुपमा कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउदै लैजान थालेको छ । माघ महिनामा नमुना हङकङ पठाउनुपर्ने बाध्यताका बीचमा सरकारले तीन महिनाभित्रै सबै प्रदेशमा नमुना परिक्षण शुरु गरेको हो ।

विगत दुई दिनमा दैनिक पाँच सय भन्दा बढिको परिक्षण भईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा ६ सय ३० वटा नयाँ नमुना परीक्षण भएको बताएको छ । तीमध्ये काठमाडौ उपत्यकामा ४ सय एक र बाहिर २ सय २९ वटा नमुना परीक्षण गरिएको हो । यो दायरा अझै बढाउदै लैजाने र अर्को साताको अन्त्यसम्ममा दैनिक एक हजार बढिको परिक्षण गरिने मन्त्रालयले बताएको छ ।

हालसम्म ३ हजार ५ सय २४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले परीक्षणको क्रममा रहेका नमुना परीक्षणको संख्या ८ सय बढी रहेको जानकारी दिनुभयो ।

उहाका अनुसार आजसम्ममा देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै आइसोलेशनमा रहेका १२५ मध्ये १५ जना काठमाडौंमा र बाहिर ११० जना रहेका छन् ।