जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार १२:४५

कोरोना कहर : नेपालका लागि आज महत्वपूर्ण दिन


काठमाडौं, चैत २९

कोरोनाभाइरसविरुद्धको लडाईमा नेपालका लागि आज र भोलीको दिन महत्वपूर्ण भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । कोरोनाको उच्च जोखिममा रहेको ठानिएका सुदूरपश्चिम र कर्णालीका चार जिल्लाका नमुनाको नतिजा आज र भोली आउदैछ ।

सुदूरपश्चिमका दुई र कर्णाली प्रदेशका दुई जिल्लाका ७०९ नमुना हेलिकप्टर र स्काई ट्रकबाट काठमाडौं ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कर्णाली प्रदेशबाट ८५, सुदूरपश्चिमको डडेल्धुराबाट १९९ र बैतडीबाट ४२५ जनाको नमुना ल्याइएको छ ।

भारतबाट ठूलो सङ्ख्यामा आएकाले ती जिल्लालाई छनौट गरिएको अधिकारीहरूको भनाइ छ । ती जिल्लाहरूमा रहेका क्वारन्टीनमा रहेकाहरूको नमुना परीक्षणका निम्ति ल्याइएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ती नमुना परीक्षण सुरु भइसकेको र शनिवारसम्म नै नतिजा आउने छ । शनिवार पूर्णरुपमा नआए आइतवारसम्म आईसक्ने जनाएको छ ।