जनता टाइम्स

३० चैत्र २०७६, आईतवार ११:१३

कोरोना कहर : अमेरिकाको शवदाहमा देखिएका दर्दनाक तस्विर, जस्ले रसाउँछ सवैका आँखा


न्युयोर्क, चैत ३०

अमेरिकाको न्यूयोर्क सिटीको हार्ट आइल्याण्डको पहिचान ‘सामूहिक चिहान’ का रुपमा रहँदै आएको छ विगत डेढ सय वर्षदेखि । सन् १८०० को मध्यदेखि हार्ट आइल्याण्डको पोटर्स फिल्डमा विभिन्न महामारीका बेला निधन भएकाहरुको सामूहिक चिहान बनाइयो ।

यसरी हार्ट आइल्याण्डमा पुरिनेमा अधिकांश आफन्तको पहिचान नभएका वा आफन्तले लिन शव लिन अस्वीकार गरेकाहरु हुने गरेका थिए । स्पेनिस फ्लू र एड्स संकटका बेला मृत्यु भएकाहरु त्यहीँ पुरिए । यस्तै सो क्षेत्र एल्लो फिवर र टिबीका बिरामीका लागि क्वारेन्टाइन सेन्टर पनि बन्यो । अहिले फेरि हार्ट आइल्याण्ड सामूहिक चिहान बनेको छ ।

कोरोना भाइरसको महामारीमा कोभिड–१९ बाट मृत्यु भएकाहरुलाई त्यहाँ पुरिन थालिएको छ । विगत १५० वर्षदेखि न्यूयोर्क सिटीले पहिचान नभएका शवहरु पुर्न सो क्षेत्र प्रयोग गर्दै आएको छ । अहिले कोरोना भाइरसबाट मृत्यु भएकाहरुको सामूहिक चिहान बनाउन थालिएको सिटीका मेइर बिल डी ब्लासिओका प्रवक्ताले बताएका छन् ।

हार्ट आइल्याण्डमा अहिलेको कोरोना भाइरस महामारीका बेला मृत्यु भएका व्यक्ति पुरिएका छन् । यसरी त्यहाँ पुरिनेमा अति गरिब तथा आफन्तको पहिचान नभएकाहरु अधिक रहेको जनाइएको छ । हार्ट आइल्याण्डमा सामान्य अवस्थामा हप्तामा २५ जना जतिको शव पुर्ने गरिएको थियो । अहिले भने दैनिक २५ भन्दा बढी शव त्यहाँ पुर्ने गरिएको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । इपिसेन्टर न्यूयोर्क राज्यमा ज्यान गुमाउनेको संख्या ८ हजार ६ सयभन्दा बढी छ। त्यसमा पनि न्यूयोर्क सिटी सबैभन्दा बढी प्रभावित भएको छ। न्यूयोर्क सिटीमा मात्रै ६ हजार ३६७ जनाको मृत्यु भइसकेको छ।