काठमाडौँ, चैत ३०
सर्वोच्च अदालतको अन्तिम आदेश अनुसार एनसेलले तिर्नुपर्ने सबै पुँजीगत लाभकर चुक्ता गरेको छ । एनसेलले आइतबार ठूला करदाता कार्यालयलाई थप १४ अर्ब ३३ करोड रुपैयाँ बुझाएर पुँजीगत लाभकर चुक्ता गरेको हो ।
त्यसअघि एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँसहित २३ अर्ब ५७ करोड बुझाइसकेको थियो । ठूला करदाता कार्यालले निर्धारण गरेको बाँकी ३९ अर्ब ६ करोड कर अन्यापूर्ण भएको र आफूले जम्मा ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ मात्र चुक्ता गर्ने भन्दै एनसेलले गत वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।
सर्वोच्चको फैसलापछि ठूला करदाता कार्यालयले एनसेलले गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो । त्यसपछि थप ४ अर्ब ५० करोड बुझाएको एनसेलले आइतबार थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो । उसले लाभकर र जरिवानासमेत गरी थप २४ अर्ब ४३ करोड रुपैयाँ आइतबारसम्ममा चुक्ता गरेको ठूला करदाता कार्यालयका प्रमुख सहसचिव झलकराम अधिकारीले बताउनु भयो । एनसेलले लाभकर चुक्ता गरेसँगै पाँच वर्षदेखि चलेको विवाद अन्त्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्