जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १०:५०

दक्षिण कोरियामा सत्तारुढ वामपन्थी डेमोक्रेटलाई प्रचण्ड बहुमत


काठमाडौं, बैशाख ४

दक्षिण कोरियामा बुधवार सम्पन्न आमनिर्वाचनमा सत्तारूढ दल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ । राष्ट्रपति मून जाए–इनले कोरोनाभाइरस महाव्याधिलाई रोक्न गरेको सफल प्रयासलाई जनताले अनुमोदन गरेका हुन् ।

मूनको वामपन्थी डेमोक्रेट पार्टी र उसको सानो साझेदारले कुल ३०० सीट भएको संसदमा १८० सीट जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९८७ मा देश लोकतन्त्रमा आएपछि कुनै पनि दलले यति धेरै सीट ल्याउन सकेको योन्हाप समाचार संस्थाले लेखेको छ ।

विपक्षी अनुदारवादी दल युनाइटेड फ्युचर र साझेदार सानो दलले १०३ सीट जितेको छ । कुल ६६.२ प्रतिशत मतदान भएको थियो जुन १९९२ पछिको सबैभन्दा बढी हो । बुधवार लाखौं मानिस मास्क लगाएर अनि एकअर्काबाट कम्तीमा एक मिटर पर बसेर मत दिन गएका थिए ।

मत दिनुअघि उनीहरूको तापक्रम जाँचिएको थियो, हात स्यानिटाइजरले पुछ्न लगाइएको थियो र प्लास्टिकको पञ्जा लगाउन भनिएको थियो । तापक्रम बढी देखिएकाहरूलाई भिन्नै मतदान बूथमा लगिएको थियो । उनीहरूले भोट दिएपछि बूथलाई स्यानिटाइज गरिएको थियो । महाव्याधि आउनुअघि मूनको दलले संघर्ष गर्ने अपेक्षा विज्ञहरूले गरेका थिए । रोजगारी सिर्जना, आयमा वृद्धि र उत्तर कोरियाको आणविक कार्यक्रम चुनावका एजेन्डा थिए ।

सन् २०१९ मा आर्थिक सुस्तता आउँदा अनि न्यायमन्त्री विवादमा पर्दा मूनको समर्थन सूचकांक ३० प्रतिशतमा झरेको थियो । तर कोरोनाभाइरस संक्रमणलाई व्यवस्थापन गरेपछि मूनको समर्थन सूचकांक ४१ प्रतिशतबाट बढेर ५७ प्रतिशत पुगेको ग्यालप पोल्सले देखाएको थियो ।

दक्षिण कोरियाको सफल व्यवस्थापनले अन्य देशका नेताहरूलाई पनि प्रभावित पारेपछि उनीहरूले मूनलाई फोन गरेर बुझेका थिए । यसले पनि मूनको सरकारलाई जनताको समर्थन बढायो, ओहायो स्टेट विश्वविद्यालयकी राजनीतिशास्त्री मिनसिओन कुले बताइन् । (एजेन्सी)