जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १२:४७

डाक्टर कुटपिट गर्ने प्रहरीले लिखित माफी माग्ने, विभागीय कारबाही पनि हुने


काठमाडौं, बैशाख ४

काठमाडौंको महाराजगञ्जस्थित रहेको कान्ति बाल अस्पताल र त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गरी लाठीबाट डाक्टरको हात र ढाडमा चोट लागेपछि प्रहरीले लिखित माफी माग्ने र विभागीय कारबाही गर्ने सहमति भएको छ। प्रहरीको बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा प्रहरीले लिखित माफी माग्ने र विभागीय कारबाही गर्ने भएको हो।

बुधबार साँझ ड्युटी सकेर घर फर्कदै गर्दा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरीले टिचिङका डाक्टर शम्भू खनाल, तेजप्रकाश साह र कान्तिका डाक्टर विकास साहमाथि कुटपिट गरेका थिए। कोरोनासँग लड्ने कि प्रहरीसँग भन्दै चिकित्सकले कुटपिटको विरोध गरेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा पिडित चिकित्सक, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटी, नेपाल चिकित्सक संघलगायतको बैठकले यस्तो सहमति गरेको हो।

प्रहरी मौखिक माफी मागेपछि चिकित्सकहरूले लिखित माफी माग्नुपर्ने अडान राखेका थिए । लकडाउनको बेला बाहिर निस्केको भन्दै प्रहरीले उनीहरुमाथि लाठी बर्साएको थियो। तर डाक्टरहरुले भने आफू डाक्टर भएको र ड्युटी सकेर आएको बताएपनि प्रहरीले भने पुलिसको लाठीले डाक्टर चिन्दैन भन्दै कुटपिट गरेको डाक्टरले बताएका छन्।