जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १४:००

डाक्टरलाई कुट्ने डिएसपीको गुम्यो जिम्मेवारी पद


काठमाडौं, बैशाख ४

बुधबार राति त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूलाई कुट्ने डिएसपी उमेश लम्साललाई जिम्मेवारी पदबाट हटाइएको छ । कुटपिटका आरोपी डिएसपी लम्साललाई काठमाडौंस्थित महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

लम्सालसँगै डाक्टरको कुटपिटमा संलग्न अन्य प्रहरीहरूलाई पनि कार्यालय सरुवा गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दुःख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । डाक्टर कुट्ने प्रहरीलाई चिकित्सक संघले कारबाहीको माग गरेको थियो ।

कोरोना भाइरसको महामारीसँगै उपचारमा खटिएका तीन जना चिकित्सकलाई प्रहरीले कुटपिट गरेकोमा राष्ट्रिय आवासीय चिकित्सक संघले आपत्ती जनाएसँगै छानविन समिति गठन गरिएको छ । वरिष्ठ प्रहरी एसएसपी किरण बज्राचार्यको नेतृत्वमा गठन भएको उक्त छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुका प्रहरी उपरीक्षक मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी रहनुभएको थियो ।