जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १४:२२

स्रोत नखुलेको १० लाख भारतीय नोटसहित दुई जना पक्राउ


हेटौंडा, बैशाख ५

स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शंकर सरकारलाई कारागार चलान गरिएको हो । राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत मकवानुरले उनीहरूलाई जनही १७ लाख रुपैँया धरौटी मागेको थियो ।

गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलिले हेटौंडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरोमा उक्त रकम बरामद भएपछि बालेरोसहित उनीहरूलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले कानून विपरित प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।