जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १३:०६

उदयपुरका ८ जनाको रिपोर्ट शंकास्पद, थप जाँचका लागि स्वाब धरान पठाइयो


उदयपुर, बैशाख ९

१३ जना संक्रमित भेटिएको उदयपुरमा थप ८ जनाको रिपोर्ट शंकास्पद भेटिएको छ । बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनाको रिपोर्ट विराटनगरमा शंकास्पद देखिएपछि अन्तिम पुष्टिका लागि धरान पठाइएको हो ।

८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । विराटनगरस्थित पीसीआर ल्याबमा ८ जनाको परीक्षण रिर्पोट शंकास्पद देखिएको थियो ।

बैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको टोलीले छुट्टा–छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो ।

संकलन गरेका स्वाब सबैका रिर्पोट आउन बाँकी रहेको छ । मस्जिदमा आएका १२ भारतीय र ४ नेपाली गरी १६ जनामध्ये ११ भारतीय र २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पुष्टि भएका १३ जनालाई नै विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ भने बाँकी ३ जनालाई बिराटनगरकै टाँडी स्थित क्वारेन्टाइनमा राखिएको छ ।