जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १८:१८

केन्द्रीय कारागार अस्पतालका दुई नर्समा आरडीटी पोजेटिभ


काठमाडौं, बैशाख ९

केन्द्रीय कारागारका दुई जना नर्सलाई र्‍यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित रहेको कारगारका दुबै नर्सलाई शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।कारागार  अस्पताल स्रोतका अनुसार सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएको थियो । उक्त परिक्षणमा उनीहरु दुई जनाको पोजेटिभ देखिएको थियो ।

हाल उनीहरुलाई आइसोलेसनमा राखिएको र जनस्वास्थ्य प्रयोगशालामा पिसिआरको परीक्षण भइरहेको बताइएको छ । केन्द्रीय कारागार, भद्रगृह र महिला जेल गरी त्यहाँ करीब ३ हजार देखि ३ हजार ५०० बढी कैदीबन्दी रहेका छन् । नर्सहरुलाई आरडीटी पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका कैदीवन्दी विरामीको समेत आरडीटी परीक्षण गरिएको तर उनीहरुको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

डिल्लीबजार, नख्खु लगायतका कारागारबाट पनि गम्भीर स्वास्थ्य समस्या भएका कैदीहरुलाई सोही अस्पतालमा ल्याई उपचार गरिन्छ । त्यस्तै अस्पतालमा एघारौँ तहको मेसु हुने व्यवस्था भएसँगै ६ जना मेसु, १२ जना नर्स, ८ जना प्यारामेडिक्स सहित झण्डै ८० ८५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेको बताइएको छ ।