जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १६:१६

ट्राफिकले सच्यायो जनबिरोधी निर्णय : मोटरसाइकल पछाडि बस्ने यात्रुलाई अनिवार्य हेल्मेटको निर्णय स्थगित


काठमाडौं, जेठ ६

चर्काे बिरोध भएपछि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयमा प्रहरी पछि हटेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयबाट पछि हटेको हो ।

स्रोतका अनुसार नागरिकको बिरोधबीच यस्तो काम उपयुक्त नहुने भन्दै खनालले निर्णयबाट पछि हटन दिर्नेशन दिनुभएको थियो । नागरिकको तर्फबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै चर्काे बिरोध भएपछि महाशाखाले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको छ ।

ट्राफिक महाशाखाले ट्वीटरमा आज एक सन्देश सार्वजनिक गर्दै दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने जानकारी दिएको हो । यसअघि महाशाखाले हिजो (आइतबार) पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरण गर्न चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो । ट्राफिकको सो भनाई सार्वजनिक भएसँगै ट्राफिक प्रहरीको चर्काे आलोचना भयो । नागरिकको अलोचनापछि ट्राफिकले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डिलमार्फत दुई हेलमेट नियम तत्काल लागु नहुने स्पष्ट पारेको छ ।

सवारी ऐन २०४९ मा मोटरसाइकल तथा दुई पांग्रे सवारी चालक तथा पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने प्रावधान उल्लेख रहेको भन्दै निर्णयको बचाउ गर्न खोजे पनि लागू नगर्ने महाशाखाले जनाएको हो । ‘यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायको बीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने छ,’ महानगरीय ट्राफिक महाशाखाले भनेको छ ।