जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार ११:०४

निर्वाचन आयोग पुगे राजपा र समाजवादीका शीर्ष नेता : नयाँ दल दर्तामा कानुनी अड्चन


काठमाडौँ, बैशाख ११

राजपा र समाजवादी पार्टीका शिर्ष नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । विगत लामो समयदेखी एकताको प्रयास गरेपनि असफल भएका दुई दल गएराति भएको करिव ३ घण्टा लामो वार्तापछि भने एकता गर्न सहमत भएका हुन् ।

मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन् । पार्टी एकता गरेर जनता समाजवादी पार्टी गठन गर्ने सहमति गरेका छन् । केही बुँदामा मात्र सहमति गरेपनि दल दर्ताका लागि कानुनी अड्चन देखिएको छ ।

नयाँ पार्टीले वैधानिकता पाउन यो निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता हुनुपर्छ । निर्वाचन आयोगमा दर्ता हुनका लागि दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय र केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउनुपर्छ । आयोगले शंका लागेमा केन्द्रीय सदस्यहरुलाई बोलाएर सनाखद समेत रुजु गर्नसक्ने व्यवस्था गरिएको छ ।

लकडाउनका कारण दुवै दलका केन्द्रीय सदस्य राजधानीमा छैनन् । जसले गर्दा सबैको हस्ताक्षर अहिले सम्भव छैन । केन्द्रीय कमिटिको निर्णय बिना दल दर्ता गरेको मान्ने कानुनी आधार हुनेछैन । जसले गर्दा दुई दलले आज नयाँ दल दर्ताको सूचनामात्र निर्वाचन आयोगलाई दिने बताएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुवै दल विभाजन नहुने र एकतालाई थप मजबुत बनाएर लगिने बताउनु भयो । उहाले कसैको पनि विमति नरहेको भन्दै असन्तुष्टलाई पनि मिलाएर लैजाने धारणा राख्नुभयो ।