जनता टाइम्स

१३ बैशाख २०७७, शनिबार ०६:३५

बाग्लुङकी कोरोना सङ्क्रमित युवती निको : फर्कनेको सङ्ख्या ११ पुग्यो


काठमाडौं, बैशाख १३  । नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती उपचारपछि निको हुनुभएको छ ।

उहाँ शुक्रबार धवलागिरी अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँ बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आउनु भएको थियो । एउटै जहाजबाट आएकी काठमाण्डौकी १९ वर्षीया किशोरीलाई सङ्क्रमण देखिएपछि उहाँको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सङ्क्रमण पुष्टि भएको थियो ।त्यसपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँसँगै आउनुभएकी काठमाण्डौकी किशोरी यसअघि नै निको भएर घर फर्किसक्नुभएको छ ।

शुक्रबार डिस्चार्ज भएकी बाग्लुङकी किशोरीले पनि आत्मबलकै कारण आफूले कोरोनालाई जितेको भन्दै गाउँमा गएर सचेतना फैलाउने बताउनुभयो ।योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या ११ पुगेको छ ।