जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १८:०६

उपभोक्ता समिति नै किर्ते बनाई २५ लाँख झ्वाम पार्ने राजपाका दुई नेता जेल चलान


सप्तरी ।

ठेक्काको २५ लाँख रुपैयाँ झ्वाम पार्न नक्कली उपभोक्ता समिति गठन गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का दुई नेता जेल चलान भएका छन् । उपभोक्ता समिति गठन प्रकरणमा किर्ते गरेको आरोपमा राजापाका केन्द्रीय सदस्यद्धय जेल चलान भएका हुन् । सप्तरी जिल्ला अदालतको आदेशमा राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरि मण्डल सोमबार पुर्पक्षका लागि राजविराज कारागारमा चलान भएका छन्।

न्यायाधीश उमेश कोइरालाको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि कारागारमा थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ। त्यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइत ४ लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा भएका छन्। पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलिप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ। उनीहरुमाथि प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम कुम्ल्याउन गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति बनाएको आरोप छ।

अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजना कुम्ल्याउन नागरिकतामा समेत केरमेट गरी प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षहरुको किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको विषयमा प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।