काठमाडौं, बैशाख १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता दिनानाथ शर्माले पार्टी फुटाउने र सरकार ढाल्ने खेलमा नलाग्न अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई सुझाव दिनुभएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर राष्ट्रिय सभामा नेकपाका संसदीय दलका नेता नेता शर्माले पार्टी बिभाजन र सरकार फेर्ने कुरा आत्मघाती भएको आफ्नो निश्कर्ष सुनाउँदै सो सुझाव दिनुभएको हो ।
उहाँले अहिले सरकारलाई प्रभावकारी बनाउने र पार्टी एक ढिक्का बनाउने काममा ध्यान दिन पनि प्रचण्डलाई सुझाउनुभएको छ । प्रचण्डलाई सरकार ढाल्ने खेलमा लाग्दा पूर्वएमाले एक हुने अवस्था आए के हुन्छ भनेर प्रचण्डसँग नेता शर्माले कडा प्रश्नसमेत सोध्नुभएको छ । ‘सरकार फेर्ने कुरा र पार्टी बिभाजन गर्ने कुरा अत्यन्तै गलत छ, यस्तो सोचाई छ भने त्याग्नोस, सरकार ढाल्ने खेलमा लाग्दा पूर्वएमाले एक हुने अवस्था आए के हुन्छ ? सोच्नुभएको छ,’ प्रचण्डसँग नेता शर्माको प्रश्न थियो ।
शर्मा अध्यक्ष प्रचण्डको निर्देशनमा सरकारविरूद्ध सुरू भएको हस्ताक्षर अभियान असफल बनाउन सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ । शर्माले यसअघि सार्वजनिक रूपमै अहिले पार्टी विभाजन र सरकार कमजोर बनाउने अभियानमा लाग्न नहुने बताउँदै आउनु भएको छ । उहाँले पार्टीका विषयमा पार्टीमा र सरकारका विषयमा सरकारभित्रै छलफल गरेर निकास निकाल्नुपर्ने धारणासमेत अध्यक्ष प्रचण्डसामू राख्नुभएको छ ।
उहाँ सोमबारमात्रै पार्टीको विवाद आन्तरिक रूपमै समाधान गर्नुपर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । शर्मा अहिले पनि सरकारविरूद्धको हस्ताक्षर अभियानमा साथ नदिने तयारी गरेका पूर्वमाओवदी नेताहरुसँग छलफल गरिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्