जनता टाइम्स

१६ बैशाख २०७७, मंगलवार १७:५९

प्रधानमन्त्री ओली–प्रचण्ड भेट : सचिवालय बैठक बोलाउने तयारी


काठमाडौं, बैशाख १६

हस्ताक्षर अभियान चलाएपछि संकटमा परेको सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक देखिनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको करिव दुई घण्टा लामो छलफलमा अध्यक्षद्वय ओली र दाहालबीच सचिवालय बैठक बोलाउन सहमति भएको बताइएको छ । यद्यपी बुधबार वा विहिवार कहिले बोलाउने भन्ने बारेमा समय यकिन हुन बाँकी छ ।

अध्यक्ष प्रचण्डको निर्देशनमा भन्दै मंगलबार विहानबाट पूर्वमाओवादीको तर्फबाट सांसदको हस्ताक्षर अभियान शुरु भएपछि आज बस्ने भनिएको बैठक अनिश्चित बनेको थियो । हस्ताक्षर संकलनको सूचना तत्कालिन माओवादीकै सांसदले चुहाएपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको हो ।

पार्टीका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको फुर्सद भएपछि सचिवालय बैठक बस्ने बताउनु भयो । ‘प्रधानमन्त्रीज्यूलाई फुर्सद भए भोली नत्र पर्सी बैठक बस्छ । अब हामी उहाँलाई पर्खेर जाने पक्षमा छौं,’खनालले भन्नुभयो ।