काठमाडौं, बैशाख १७
संघीय संसदको बजेट अधिवेशनको तयारी बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुग्नु भएको छ । कोरोना भाइरसको महामारीका बीच बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका बीच कसरी बैठक संचालन गर्ने भन्ने बारेमा बुझ्न उहा संसद भवन नयाँ बानेश्वर आउनु भएको हो ।
प्रधानमन्त्री ओलीले आपसी दुरी बनाएर कसरी बैठक सञ्चालन गर्नेबारेमा संसद सचिवालयसँग जानकारी माग्नु भएको छ । प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन पुग्नु भएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी पनि संसद् भवनमा जानुपर्ने हुन्छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट संसद्मा पेस गर्नुपर्ने हुन्छ । सरकारले बजेट निर्माणको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।
भवनको निरिक्षण गर्नुअघि आजै सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो । सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गरेर जानुपर्ने सुझाव राख्नु भएको थियो । जसमा प्रधानमन्त्री समेत सकरात्मक बन्नु भएको छ ।
सत्तारुढ नेकपाभित्र सत्ताको हानाथापीले गर्दा सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि–बजेट छलफलमा ढिलाइ भईरहेको छ । सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि उहा निरिक्षणमा आउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्