जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार १२:५३

द्वन्द्व छाडेर एकतामा जोड दिन प्रचण्डमाथी पूर्व माओवादी नेताहरुको दवाब


काठमाडौं, बैशाख १७

अस्थिरता भन्दा एकतातिर ध्यान दिन पूर्व माओवादीका नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिन थालेका छन् । विश्व महामारीका बेला पनि सरकार ढाल्ने र बनाउने खेलविरुद्ध नलाग्न चेतावनी दिन थालेका हुन् ।

उनिहरुले एकता, सहमति र सहकार्यबाटै अगाडी बढ्न नेताहरुलाई सुझाव समेत दिएका छन् । पूर्वमाओवादीबाट प्रतिनिधित्व गर्ने नेकपाका नेताहरु कृष्णबहादुर महरा, प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट, दिनानाथ शर्मालगायतका नेताहरुले विज्ञप्ती र सार्वजनिक अभिव्यक्तिबाट एकतामा जोड दिएका हुन् । पछिल्लो समय मौन बस्नु भएका नेता साहले पनि केही अवसरवादी नेतााहरु द्वन्द्व र अस्थिरता पैदा गरेर आफ्नो स्वाथइ पूर्ति गर्न लागेको आरोप लगाउनु भएको छ ।

प्रदेश–२ का अध्यक्ष समेत रहनु भएका नेता साहले अवसरवादले टाउको उठाएकोमा आक्रोश पोख्नु भयो । ‘अहिले कयौं अवसरवादी नेताहरु द्वन्द्व र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न लागेका छन’, उहाले भन्नुभयो, ‘देशको संकटपूर्ण स्थितिमा टाउको आफ्नो स्वार्थपूर्ति गर्ने प्रयास ठूलो खतरा हो । यो देश र क्रान्तिका लागि खतरनाक हो, यसमा अल्झिनुहुँदैन । त्यस्तो भएमा देश बर्बाद हुन्छ ।’ यद्यपी उहाले प्रधानमन्त्री ओलीको विकल्प खोज्नै परे प्रचण्डमात्र त्यसको एकमात्र विकल्प भएको स्पष्ट पार्नुभयो ।

पूर्वमाओवादी खेममा प्रधानमन्त्री ओलीविरुद्ध हस्ताक्षर अभियान संकलन भएपछि नेताहरु आक्रोशमा आउन थालेका हुन् । आपूर्ति मन्त्री समेत रहनु भएका भट्टले त सरकारको विकल्प खोज्न नहुने बताईसक्नु भएको छ । उहाले यसो बोल्दा आफ्नो मन्त्री पद जान्छ भने पनि छाड्न तयार रहेको घोषणा समेत गरिसक्नु भएको छ ।

यसैगरी प्रचण्डका निकट मानिनु भएका पूर्वसभामुख महराले पनि बुधबार नै विज्ञप्ती निकालेर कोरोनाविरुद्ध लड्ने बेलामा पार्टीभित्र झगडा गरेर बस्दा जनता निराश भएको उल्लेख गर्नुभएको छ । उहाले यो बेला कोरोनाविरुद्ध लड्ने बेला भएको भनेर प्रचण्डको कार्यप्रति घुमाउरो तर बुझिने भाषामा स्पष्ट पारिसक्नु भएको छ ।

‘अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल र जनसुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो’, उहाले भन्नुभएको छ, ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आमजनता निराश बनेका छन ।’

नेताहरु रायमाझी र शर्माले पार्टीलाई विभाजन गर्ने दिशातर्फ अघि नबढन आग्रह गरिसक्नु भएको छ । यस्तो अवस्था आए आफुहरु एकताको पक्षमा उभिने स्पष्ट सन्देश प्रचण्डलाई दिइसक्नु भएको छ ।