जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार ०७:३१

कोरोनाबाट संक्रमितको संख्या ३२ लाख १९ हजार नाघ्यो, १० लाखभन्दा बढी उपचारपछि घर फिर्ता


 

काठमाडौं, १८ बैशाख । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३२ लाख १९ हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १० लाख २४३ जना निको भएको वल्डोमिटरले जनाएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेको छ । अहिलेसम्म भाइरसको सङ्क्रमणबाट दुई लाख २८ हजार १९७ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।

अमेरिकामा गएको २४ घण्टामा मात्रै २३ सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या साढे ६१ हजार पुगिसकेको छ । यस्तै १० लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै भारतमा ३३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा एक हजारभन्दा धेरैको ज्यान गएको छ ।