जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार २०:४१

नेपाली जनताले भोग्नुपर्ने दुःखका दिन अब सकियो : मुख्यमन्त्री राई


ओखलढुंगा, जेठ ६

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनु भएको छ । सदरमुकाम रुम्जाटारमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो ।

‘विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको छ, अव पुर्पुरोमा हात राख्नुपर्ने दिन गए,’ मुख्यमन्त्री राईले भन्नुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुने उहाँको भनाई छ ।

‘घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौं । समय केही लाग्ला तर सबै प्रकारका गरीबी र बेरोजगारी हटाउने अभियानमा हाम्रो ध्यान केन्द्रित छ,’ मुख्यमन्त्री राईको भनाई थियो ।

उहाँले मुलुकको विकासका लागि नेपालीबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । मुलुक समृद्धिको यात्रामा अघि बढेकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । तीन दिनको ओखलढुंगा बसाईमा रहनुभएका मुख्यमन्त्री राइ यसअघि रुम्जाटार बौद्ध गुम्बाको उद्घाटन, रुम्जाटार स्मार्टसिटीको सम्भाव्यता अध्ययन, बेलायत रहेका नेपालीको सांस्कृतिक तथा सम्मानलगायत कार्यक्रममा सहभागी हुुनुभएको थियो ।