जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार १५:४६

थर्मलगनमा कालोबजारी गर्दागर्दै प्रहरीले पक्राउ गरिएका भनिएका व्यवसायी सुलभ धरौटीमा रिहा


काठमाडौं, बैशाख १८

काठमाडौं जिल्ला अदालतले थर्मलगन कालोबजारी गरेको आरोपमा प्रहरीले रंगेहात पक्राउ गरेका व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले अग्रवाललाई धरौटीमा रिहा गर्ने आदेश भएको जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा १६ वैशाखमा मुद्दा दायर गरेको थियो ।

२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो । अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मलगन दश लाख रूपैयाँमा खरिद गर्ने सहमति गरेर पक्राउ गरेको थियो ।