जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार १६:३९

धरौटीमा रिहा भएलगत्तै पक्राउ परे अर्वपति ब्यापारी सुलभ अग्रवाल : यस्तो छ कारण


काठमाडौं, बैशाख १८

कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट साढे २५ लाख धरौटी बुझाएर रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् ।

अदालतको आदेशपछि अग्रवाल रिहा भएलगत्तै बिहीबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । ‘सम्पत्ति शुद्धिकरण विभागले उहाँलाई छानबिन गर्ने भनेकाले पक्राउ गरिएको हो,’ ज्ञवालीले भन्नुभयो ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको छ । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।

तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो । सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो ।