जनता टाइम्स

१९ बैशाख २०७७, शुक्रबार १४:४४

रुपन्देही र बाँकेमा भेटिए कोरोनाका दुई संक्रमित, एक विदेशबाट आएको खुल्यो


काठमाडौँ, बैशाख १९

रुपन्देही र बाँकेमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ ।

शुक्रबार रुपन्देहीका २५ वर्षीय पुरुष र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ । उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो ।

उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ । अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन् । तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा. अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै हालसम्म कोरोना संक्रमणपछि १६ जना निको भएर घर फर्किइसकेका छन् ।