जनता टाइम्स

२० बैशाख २०७७, शनिबार १८:१७

सचिवालय बैठकमा प्रचण्डको नयाँ आसन, कस्तो आउला निकास


काठमाडौं, बैशाख २०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नयाँ बसाइको व्यवस्थापनसहित प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

यसअघिका बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीलाई मात्र छुट्टै आसन छुट्टाइएको थियो । मृगौला प्रत्यारोपणका कारण संक्रमण हुने खतरा रहेपछि उहालाई अलिक पर बेग्लै आसनमा बसाउने गरिएको थियो । तर, चिकित्सककै सुझावमा अहिले भने ओलीसँगै कार्यकारी अध्यक्ष प्रचण्डको पनि कुर्सी सामाजिक दुरी कायम राखेर एउटै ‘रो’ मा राखिएको हो ।

प्रधानमन्त्री तर्फको रो मा रहेका कुर्सीमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल हुनुहुन्छ । प्रचण्डतर्फको रो मा रहेका कुर्सीमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र इश्वर पोखरेल हुनुहुन्छ । साथै दुइ अध्यक्षको ठिक अगाडी पट्टीको कुर्सीमा महासचिव विष्णु पौडेल रहनु भएको छ ।

बैठकमा पछिल्लो समय नेकपाभित्र देखिएको विवादका विषयमा छलफल भईरहेको छ । साथै स्थायी कमिटिको बैठकका विषयमा पनि निर्णय हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।