जनता टाइम्स

२० बैशाख २०७७, शनिबार २२:३५

प्रधानमन्त्री ओलीको राजिनामाको च्याप्टर अब सकियो – वरिष्ठ नेता खनाल


काठमाडौं, बैशाख २०

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको विषय टुंगिएको बताउनु भएको छ । शनिवार बसेको सचिवालय बैठकमा सबैले आत्मालोचना गरेर अगाडी बढ्ने निर्णय भएकाले राजिनामाको विषय सकिएको उहाले बताउनु भएको हो ।

सचिवालय बैठकपछि बोल्दै उहाले सबै मिलेर जनताको पक्षमा काम गर्ने निर्णय भएको बताउनु भयो । सचिवालय बैठकले आजको सहमति गर्नुपुर्व देशव्यापी रुपमा नेकपाभित्र पैदा भएको तरंग आजको सहमति र निर्णयसँगै समाप्त भएको जनाउनु भयो । ‘आजको बैठकसँगै एकताको दिशामा अत्यन्तै सकारात्मक कदमको रुपमा सम्पन्न भएको छ । हामी सबै सिंगो पार्टीलाई एकताबद्ध बनाएर लैजान सहमत भएका छौं । अब स्थायी कमिटीमा जे निर्णय ल्याउँछ, त्यो साझा प्रतिवेदन ल्याउँछ’, वरिष्ठ नेता खनालको भनाई छ ।

वरिष्ठ नेता खनालले आफूहरुले अल्पमतमा परेर सम्झौता भने नगरेको जिकिर गर्नुभयो । ‘विल्कुलै अल्पमतमा परेर सम्झौता गरेको होईन । दुवै पक्षले रियलाईजेशन गरेको हो । दुवै पक्षले सांसदहरुलाई हस्ताक्षर गर्ने अभियान चलाउन थालिसकेका थिए । सांसदहरुलाई हस्ताक्षर गर्ने अभियानमा पुगेका थियौं । हामीले जनताको कुरा सुन्यौं । यसले देशलाई नोक्शानीतर्फ लैजान्छ भन्ने सोचेर एकता भएर जानुको विकल्प छैन भन्ने अनुभुति गरेका हौं’, खनालको भनाई छ ।