जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार १३:४२

बन्दाबन्दीमा १७६ जना महिला तथा बालिकामाथि हिंसा


काठमाडौं, बैशाख २३

चैत ११ गतेदेखी लागु गरिएको बन्दाबन्दीको समयमा विभिन्न १८ वटा जिल्लाहरुमा १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको एक अध्ययनले देखाएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको सो सस्थाले जनाएको छ ।

जसमा १०३ वटा घरेलु हिंसा, १५ वटा सामाजिक हिसा, २६ वटा बलात्कार, ५ वटा बलात्कारको प्रयास, १ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, ७ वटा यौन दूव्र्यवहारका घटना, ११ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना र २ वटा साइवर अपराधसँग सम्बन्धीत घटना रहेका छन् । हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ७८ जना श्रीमान् रहेका छन् र ३७ जना परिवारको सदस्यहरु रहेका छन् । यस अवधिमा संकलन भएका २६ वटा बलात्कारका घटनाहरु मध्ये २ वटा सामुहिक बलात्कारका रहेका छन् । जुन गत हप्ता मात्र संकलन भएको हो । यस घटनामा प्रेमि र उनका साथीहरु संलग्न रहेको पाईएको छ ।

१८ वटा छिमेकीबाट, १ घटना बुबावाट, १ वटा घटना आफ्नै दाजुबाट, १ वटा परिवारको सदस्यबाट, ३ प्रेमी ठानिएका व्यक्तिबाट र २ पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ । अभिलेखन गरिएका घटनाहरुलाई उमेर समुहको आधारमा हेर्दा सबैभन्दा बढी १७ देखि २५ बर्ष उमेर समूहका ५५ जना महिलाहरु हिंसाबाट प्रभावित भएको पाइएको छ । यसरी नै २६ देखि ३५ वर्ष उमेर समूहका ४५ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका २७ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका १७ जना महिलाहरु र १६ बर्षभन्दा कम उमेरका २५ जना बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् । उमेर समूह थाहा नभएका ७ जना रहेका छन् ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये ७४ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, २२ जना मेलमिलाप समितीमा गएको, २१ जना हिंसा सहन नसकेर आमाबुवाको घर\आफन्तकोमा गएर बसिरहेका र बाँकि प्रभावितहरुले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेको र वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।

संस्थाले हिसां न्युनिकरण गर्न विभिन्न सात वटा सुझाव समेत दिएको छ । महिला तथा बालिकाले आफुमाथि भएको हिंसाको उजुरी गर्नका लागि सहज वातावरणको सिर्जना गर्नुपर्ने । प्रहरी, न्यायीक समिति, मेलमिलाप समितिले हिंसाको रोकथाम तथा न्याय निरुपणका लागि सक्रिय भएर कार्य गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा हिंसा विरुद्ध उजुरी गर्न प्रोत्साहन गर्ने र हिंसामुक्त जीवन बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चितताका लागि हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने लगायतका रहेका छन् ।

संस्थासँग आबद्ध २८ जना मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित १७४ र १६७ हिंसा प्रभावित÷ प्रभावितको परिवारका सदस्य गरी जम्मा ३४१ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरेको जनाएको छ ।