जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार १४:४४

नेपाली अर्थतन्त्रका लागि कोरोनाको प्रभाव निकै चुनौतीपूर्ण छ : गभर्नर अधिकारी


काठमाडौं, बैशाख २३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष अर्थतन्त्रका लागि निकै चुनौतीपूर्ण रहेको बताउनु भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा गभर्नर अधिकारीले कोरोना भाइरसको संक्रमणबाट विश्व अर्थतन्त्रमा पर्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतीपूर्ण रहने बताउनु भएको हो ।

विप्रेषण आप्रवाह कम हुने, पर्यटनमा आय शून्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा निकै चुनौती थपिएको गभर्नर अधिकारीको भनाई छ । गभर्नर अधिकारीले आगामी बर्ष विप्रेशणमा २० प्रतिशतभन्दा बढी संकुचन आउन सक्ने बताउनु भयो । ‘अर्काे वर्षमा हामीलाई विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्नेछ, पर्यटन आम्दानी हामीले आस गर्न सक्दैनौँ, त्यसैगरी वैदेशिक थप लगानी हामी आस गर्न सक्दैनौँ, सँगसँगै नेपालबाट बाहिर निर्यात भन्ने कुरा पनि आउने वर्ष एकदमै नोमिनल हुन्छ । जसले गर्दा हामीलाई वैदेशिक मुद्राको सञ्चिति मुद्राको परिचालनमा भने केही ठूलो प्रेसरमा काम गर्नुपर्ने हाम्रो अनुमान छ,’ गभर्ननर अधिकारीले भन्नुभयो ।

उहाँले चालू आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरू पूरा नहुने स्थिति आइसकेको जानकारी पनि दिनुभयो । यस्तै कोरोना सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताउनु भयो । यस्तै अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दबाब पर्ने गभर्नर अधिकारीको भनाई छ । वित्तीय क्षेत्रको स्थायित्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरूलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने तथा रोजगारी प्रवर्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा राष्ट्र बैंकले तयारी थालेको जानकारी पनि गभर्नर अधिकारीले दिनुभयो ।

उहाँले पाँच करोडभन्दा बढी कर्जा लिने ग्राहकको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएकोसमेत बताउनु भयो । यस्तै कोरोनाका कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस भन्नका लागि गहिरो गरी अध्ययन पनि भइरहेको जानकारी दिनुभयो । समग्र अर्थतन्त्रमा परेको असर, बैंक तथा वित्तीय क्षेत्रमा परेको असरलगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी राष्ट्र बैंकले दिने सुविधा तयार गर्न खोजिएको जानकारी पनि उहाँले दिनुभयो ।