जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार १३:२०

धमाधम चल्दैछ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्ग बिस्तारको काम


काठमाडौँ, बैशाख २४

लकडाउनले धेरै गतिविधि ठप्प भएपनि सरकारले विकास निर्माणका कतिपय काम निरन्तरता दिईरहेको छ । जस अन्तर्गत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्ग बिस्तारको काम पनि धमाधम भईरहेको छ । सो कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीका अनुसार ३०० मिटर धावन मार्ग थप पर्ने काम अब अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । विगत एक वर्षदेखि विमानस्थलको धावन मार्ग थप गर्नका लागि काम भइरहेकोमा अहिले पेभमेन्ट अर्थात माथिल्लो भाग पिच गर्ने काम भइरहेको छ ।

धावनमार्गको पिच विभिन्न चरणमा गरेर २६ सेन्टिमिटर मोटो बनाउनु पर्ने र अहिले सोही काम भइरहेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख भण्डारीले जानकारी दिनुभयो । हाल विमानस्थल बन्द जस्तै अवस्था रहेकाले दिनरात नै काम भइरहेको छ र अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ ।

अहिले त्रिभूवन विमानस्थलको धावनमार्गको लम्बाई तीन हजार ५० मिटर छ । त्यसमा ३०० मिटर थपेर ३३ सय ५० मिटर लम्बाईको बनाएपछि विमानस्थल सुरक्षा थप बलियो हुने बताइएको छ ।