जनता टाइम्स

२५ बैशाख २०७७, बिहीबार १२:१९

सांसद र संसद सचिवालयका कर्मचारीको स्वाब संकलन, आजै रातिसम्म सबैको रिपोर्ट आउने


काठमाडौं, बैशाख २५

संघीय संसदको छैठौं अधिवेशन सुरु हुनु अघि सांसदमा कोभिड १९ संक्रमण रहे नरहेको बारे पीसीआर परीक्षण सुरु भएको छ । उच्च स्वास्थ्य सुरक्षाका बीच अधिवेशन आह्वान भएको उल्लेख गर्दै सचिवालयले प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५८, सचिवालयका कर्मचारी, सुरक्षाकर्मीसहित करिब ५ सय जनामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिरहेको छ ।

राष्ट्रिय सभा सदस्यहरुको बिहान १० बजे र प्रतिनिधि सभाका सांसदहरुको ११ बजेदेखि पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । स्वास्थ्यकर्मीले सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि स्वाब संकलन गरेका छन् । संक्रमित क्षेत्रका सांसद, संक्रमणका समय काठमाडौं बाहिर गएका सांसदलाई प्राथमिकताका आधारमा परीक्षण गर्ने तयारी भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।

शंकास्पद देखिएका सबै सांसदको परीक्षण रिपोर्ट आजै रातिसम्ममा दिने योजना सहित तयारी भएको संसद सचिवालयले जनाएको छ । लकडाउनपछिको समयमा काठमाडौं बाहिर नजाने र संक्रमण नभएका सांसद तथा कर्मचारीको परीक्षण भने दोस्रो चरणमा हुने सचिव फुयालले बताउनुभयो ।

संक्रमण देखिए उनीहरुलाई तत्काल आईसोलेशनमा पठाउने र नदेखिए भोलीबाट सुरु हुने अधिवेशनमा सहभागी हुन सक्ने सचिवालयको भनाई छ । संघीय संसदको छैठो तथा बजेट अधिवेशन भोली अपरान्ह ४ बजे सुरु हुँदैछ ।