जनता टाइम्स

२६ बैशाख २०७७, शुक्रबार १७:१०

कोरोनाको चेकजाँचका लागि सरकारले पिसिआर विधिलाई नै प्राथमिकता : स्वास्थ्यमन्त्री ढकाल


काठमाडौं, बैशाख २६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९)को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित सङ्घीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा कार्यक्रम सुझाव सङ्कलनका क्रममा उहाँले पिसिआर परीक्षणका लागि पर्याप्त किट भएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सरकारसँग पर्याप्तमात्रामा पिसिआर किट रहेको छ । २० हजार चीन र ३० हजार स्विट्जरल्याण्ड सरकारले किट उपलब्ध गराएको छ ।

मन्त्री ढकालले कोभिड–१९ बढी जोखिम देखिएको उदयपुर, पर्सा र नेपालगञ्जमा मन्त्रालयबाट विशेष टोली परिचालन समेत भएको जानकारी दिनुभयो ।उहाँले हिजो सांसदको परीक्षणलाई लिएर सञ्चारमाध्यमा गलत प्रचार भएको बताउनुभयो । “सञ्चारमाध्यमले जनताको परीक्षण नगरेर सांसदको पिसिआर विधिबाट परीक्षण गरेको भनेर प्रकाशित गरे”, उहाँले भन्नुभयो, ‘तर त्यसो होइन । सांसदमा हिजो २१२ जनाको तथा अन्य सुरक्षाकर्मी र कर्मचारीको १७९ गरिएको छ । त्यहाँ सांसद जतिकै अन्यको पनि परीक्षण गरिएको छ ।”

उहाँले प्रदेशमा समान रुपले परीक्षण किट पठाइएको भन्दै बढी संवेदनशील ठाउँमा केन्द्रबाट नै विशेष टोली खटाइएको बताउनुभयो । सो कार्यक्रममा सांसद जुलीकुमारी महतोले प्रदेश नं २ मा पर्याप्तमात्रामा परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले नयाँ कार्यक्रमभन्दा पहिलेको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

सांसद समिना हुसेनले पिसिआर परीक्षण कम भएकाले बढाउनुपर्ने बताउनुभयो । सांसद सुरेशचन्द्र दासले भारतमा अलपत्र परेका नेपालीलाई परीक्षण गरेर क्वारेन्टाइनमा राखेर नेपाल भित्र्याउनुपर्ने बताउनुभयो । सांसद सरिताकुमारी गिरी र चाँदतारा कुमारीले टेकुस्थित सरुवा रोग अस्पतालले मुलुकका बिरामीलाई थेग्न नसक्ने भन्दै सातवटै प्रदेशमा सरुवा अस्पताल निर्माण गर्नुपर्ने बताउनुभयो । सांसद लीला श्रेष्ठले स्वास्थ्यका क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो । सांसद तुलसाकुमारी दाहालले एक परिवार एक सदस्यलाई पिसिआर विधिबाट कोभिड–१९ परीक्षण गर्नुपर्ने बताउनुभयो ।