जनता टाइम्स

२६ बैशाख २०७७, शुक्रबार १८:३४

कोरोनाविरुद्ध एकजुट भएर लड्न नेकपा संसदीय दलका उपनेता नेम्वाङको संसदमा आग्रह


काठमाडौं, बैशाख २६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कोरोनाको चुनौतीलाई सामना गरिरहेको अवस्थामा बजेट अधिवेशन प्रारम्भ भएको बताउँदै कोरोनाविरुद्धको लडाइँमा सबैलाई एकजुट हुन आग्रह गर्नुभयो ।

नेता नेम्वाङले कोरोना रोकथामका लागि लकडाउन आवश्यकता एवं बाध्यता भएको र यो प्रभावकारी ढङ्गले कार्यान्वयन भएका कारण कोरोनाको सङ्क्रमणले नेपालमा भयावह रुप लिन नपाएको बताउनुभयो । सबै एकजुट भएका कारण यो परिणाम आएको बताउँदै उहाँले आफ्नो दलका तर्फबाट सरकारलाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागका रहेर काम गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

कोरानाले धेरै क्षेत्रमा प्रभाव पारेको उल्लेख गर्दै उहाँले विदेशमा रहेका र हाल अप्ठ्यारामा परेका नेपालीको समस्या सम्बोधन गर्न सरकारको ध्यान गएको र चाँडै यथोचित काम हुने जानकारी गराउनुभयो । उहाँले केही दिनअघि सांसद् अपहरण भएको भनिएको घटना उचित नभएको बताउँदै त्यसबारे यथार्थ के हो भन्नेबारेमा बुझ्नु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । नेता नेम्वाङले आफूहरु कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।