जनता टाइम्स

२७ बैशाख २०७७, शनिबार १२:५८

भारतको मुम्बईबाट पाँच दिनअघि लुकेर नेपाल आएका थिए कपिलवस्तुका तीन कोरोना संक्रमित


कपिलबस्तु, वैशाख २७ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका तीन युवा भारतको मुम्बईबाट लुकीछिपी नेपाल आएको तथ्य खुलेको छ । आज कोरोना संक्रमणको पुष्टि भउका तीन युवा पनि अघिल्ला संक्रमित दुई जनाजस्तै भारतबाट आएका र सोही दिन सोही नाकाबाट फरक समूहमा नेपाल प्रवेश गरेको पाइएको हो ।

जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरु तीनै जना मायादेवी गाउपालिका २ निवासी हुन् । उनीहरु भारतको मुम्बइबाट चाकरचौराह नजिकको दशगजा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । उनीहरू वैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

युवाहरूले सिधै क्वारेन्टाइनमा आएको बताएका छन् । यद्यपि यसबारे स्थानीयसँग सत्यतथ्य बुझ्न बाँकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ । यसअघि २ दिनअघि कोरोना सङ्क्रमण देखिएका २ जना पनि मायादेवी गाउँपालिका २ कै बासिन्दा थिए । उनीहरु पनि मुम्बइबाट छुट्टाछुट्टै समूहमा आएको स्थानीयले बताएका छन् ।