जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार १६:५२

सिमामा काँडेतार लगाउन युवा संघ र अनेरास्ववियूको माग


काठमाडौं, बैशाख २८

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले सीमानामा काँडेतार लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आइतवार ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू र युवा संघका नेताहरूले सीमानामा काँडेतार लगाई सुरक्षाफौज राख्न माग गरेका छन् । ज्ञापन पत्र बुझाउन अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ र युवा संघ संयोजक रामप्रसाद सापकोटा दीपशिखा, सहसंयोजक रमेश पौडेल परराष्ट्र मन्त्रालय पुगेका थिए ।

युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले छापमार शैलीमा मिचिएको भूमि फिर्ता गराउन र सीमामा काँडेतार लगाउन माग गर्नुभयो । उनीहरूले परराष्ट्र मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भारतले गत कात्तिकमा जारी गरेको राजनीतिक नक्सा खारेजी गर्न माग गरेका छन् । उच्चस्तरीय कुटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न उनीहरूले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको भूमिमा भारतले सडक बनाएको विषयमा सरकार जानकार रहको र सरकारले आफ्नो दृष्टिकोण परराष्ट्र मन्त्रालय मार्फत सार्वजनिक गरिसकेको बताउनु भयो । उहाले एक पक्षीय ढंगले भएका गतिविधिहरु दुई देशका प्रधानमन्त्री तहमा भएको कुटनीतिक संयन्त्र निर्माण गरि समाधान गर्ने सहमति विपरित भएको समेत बताउनु भयो ।