काठमाडौं, बैशाख २८
प्रतिनिधिसभामा भारतले मिचेको भूमि फिर्ता ल्याउन सांसदहरुले संकल्प प्रस्ताव दर्ता गर्नुभएको छ । भारतले लामो समयदेखि अतिक्रण गरिरहेको पश्चिमी सिमानाको नेपाली भूमि फिर्ता ल्याउँन आइतवार संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको हो ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम प्रतिनिधिसभाका ६ जना सांसदहरुले संकल्प प्रस्ताव दर्ता गराउनु भएको छ । संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी रहनु भएको छ ।
उहाहरुले दर्ता गराएको संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ ।
‘कुनै पनि देशको सीमा निर्धारण गर्ने प्रमाणिक र वैज्ञानिक आधारहरु छन् । जसमध्ये अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र पूरक सम्झौताहरु हुन्’, संकल्प प्रस्तावमा भनिएको छ, ‘त्यसका साथै नदीको उद्गमस्थल, जलाधारको बहाव र त्यसले ओगटेको क्षेत्र तथा पानी ढलो पनि हुन् ।’ उक्त तथ्यहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएको पुष्टि गरेको सांसदको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्